प्रहरीको हत्या आरोपी आमाछोरा पुर्पक्षका लागि कारागार चलान
बाग्लुङ | भदौ ७, २०८०
बागलुङ: प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्या आरोपित दुई जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
अदालतले बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोदलाई पुर्पक्षका लागि जेल पठाएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङले गत साउन ८ गते राति ११ बजे कुँवर आमा छोराले मिलेर भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौडेलको हत्या गरेको भन्दै मुद्दा दर्ता गरेको छ।
खाजा खान होटलमा गएका पौडेल राति १ बजे होटलमै मृत फेला परेका थिए। होटलमा झगडा भएको भन्ने खबर प्राप्त भएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय भिमगिठेको टोलीले सई पौडेललाई मृत फेला पारेको थियो।
हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर आमाछोरालाई गत साउन ९ गते पक्राउ गरेर अनुसन्धानका लागि जिल्लामा ल्याएको थियो। पौडेल रातिसम्म बसेपछि आशासँग भनाभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।
पौडेलको पोस्टमार्टम रिपोर्टमा पनि शरीरभरी नीलडाम र घाउ देखिएको तथा घाँटीमा कसिएको डाम देखिएको उल्लेख छ। पौडेलको घाँटीमा लगाएको सिक्री समेत प्रहरीले होटलको पैसा राख्ने सोकेसबाट फेला पारेको थियो।
निर्घात कुटेपछि बेहोस भएका पौडेलको घाँटी थिचेर मारेको आरोपीले बयान दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए।
उनले प्रहरीलाई आमाछोराले एउटै बयान दिएको बताए। तर, आरोपीहरूले अदालतमा भने फरक–फरक बयान दिएका थिए। अदालतको आदेशपछि आमाछोरा दुवै जना बुधबारै बागलुङ जिल्ला कारागार चलान भएका छन्।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

